काठमाडौं– सामाजिक सञ्जालमा अष्ट्रेलिया काण्डकाे रूपमा आफ्नो चरित्र हत्या गरेको भन्दै अष्ट्रेलियामा रहेकी युवतीले नेपालमा उजुरी गरेकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै उनले नेपालमा उजुरी गरेकी हुन्।
अश्लील साइटमा राखिएको असम्बन्धित भिडियो र आफ्नो भिडियो जोडेर चरित्र हत्या गरिएको उनकाे आराेप छ। उनले अष्ट्रेलियाबाटै बुधवार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी हुन्।
सोमबारदेखि अष्ट्रेलिया काण्डकाे नाममा नेपाली युवतीको भन्दै अश्लील भिडियो सामाजिक सञ्जालमा सार्वजानिक गरिएको छ। सो क्लिप नेपाली युवतीको भने हैन। पोर्नहब नामक अश्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नेपालीको भिडियो भन्दै फेसबुक क्लोज ग्रुपहरुमा फैलाइएको हो।
पीडितले उजुरीमार्फत अश्लील भिडियोकाे सानो क्लिप फेसबुकमा राखिएको जानकारी दिँदै आफुलाई शंका लागेको व्यक्तिहरुको नाम समेत खुलाएकी छिन्। प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउने कार्यमा सक्रिय रहेकाहरूको खोजि सुरु गरेको छ।