काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्ष केशब भट्टराईको निधन पश्चात अध्यक्ष पदका लागि फेरि छनोट गर्नुपर्ने भएको छ। उक्त पदका लागि आधा दर्जन चलचित्रकर्मी दौडमा लागेका छन्।
बोर्ड अध्यक्षको पदका लागि यसपटक नेपाली चलचित्रका दुई नायक पनि दौडमा छन्। नायकद्वय राजेश हमाल र भूवन केसीले समेत विकास बोर्ड अध्यक्ष बन्नका लागि लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक हुने देखिएको छ।
बोर्ड अध्यक्ष बन्नका लागि निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक केपी पाठक, कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का, निर्देशक दयाराम दाहाल पनि आकांक्षी देखिएका छन्। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन।
यसैले पनि बोर्ड अध्यक्ष चयन हुन अझै केही समय लाग्ने निश्चित छ। बोर्ड अध्यक्ष बन्नका लागि अगाडि सरेका नायक भूवन केसीले चलचित्रकर्मीको हक हितका लािग आफूले काम गर्न सक्ने बताए। उनले भने, ‘चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, निर्माताको मैले भावना वुझेको छु। चलचित्र क्षेत्रमा सबैलाई एकजुट बनाएर अगाडि बढाउन आवश्यक छ।’
नायक भूवन केसी आज पनि चलचित्र क्षेत्रमा उस्तै सक्रिय छन्। चलचित्र निर्माण, अभिनय र निर्देशनमा समेत उनी व्यस्त देखिन्छन्। नायक केसीले भने, ‘चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्र क्षेत्र र चलचित्रकर्मीको मर्म वुझेको मानिस आउन जरुरी छ । यसमा म नै आउनुपर्छ भन्ने पनि होइन।’ उसो त चलचित्र विकास बोर्डलाई सूचना तथा संचार मन्त्रालय सम्हालेको पार्टीको कुनै एक कार्यकर्ता भर्ती गर्ने केन्द्रमा रुपमा लिइन्छ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका आकांक्षी सबै कलाकर्मी नेकपा निकट मानिन्छन्। नायक राजेश हमाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेको वुझिएको छ। सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि निर्देशक दयाराम दाहाललाई बढी रुची राखेका छन्। यसैले पनि चलचित्र विकास बोर्डको अध्यक्षको दौड रोचक हुने देखिएको छ।