काठमाडौं– काठमाडौंका हरेक चोकमा अहिले ‘ट्राफिक नियम उल्घंन गरे १० हजारसम्म जरिवाना’ लेखेको एउटा बोर्ड देख्न पाइन्छ। पछिल्लो समय सडक दुर्घटना शृंखलाबद्ध रुपमा बढेकोले दुर्घटनाको संख्यात्मक वृद्धिमा कमि ल्याउन र सबै चालकलाई सचेत गराउन यस्ता बोर्ड लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको हो।
उपत्यका ट्राफिक प्रहरी प्रमुख भिम ढकालका अनुसार यो रकम ट्राफिक प्रहरीले गर्ने अधिकतम शुल्क हो। तर सबैलाई १० हजार नै शुल्क लाग्ने छैन। अहिले विशेष गरेर तीन किसिमको नियम उल्लघंन गर्नेलाई १० हजार रुपैयाँ कारवाही गर्ने गरिएको महाशाखाले जनाएको छ।
ती यसप्रकार छन्ः
१. कुनैपनि सवारीसाधनलाई उत्पादनको स्वरुपबाट अर्के देखिनेगरि मोडिफाई गरेको पाइएमा
२. एउटा प्रयोजनको लागि भनेर दर्ता भएको सवारीसाधन अन्य प्रयोजनामा प्रयोग गरेको पाइएमा
३. आफूखुसी नम्बर प्लेट प्रयोग गरेको पाइएमा १० हजार रुपैयाँ जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।