विराटनगर– महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण दास गिरी भारततर्फ भागेका छन्। सुरक्षाका लागि सरकारले खटाएका प्रहरीलाई फिर्ता पठाएर गिरी जोगबनी नाका हुँदै भारततर्फ भागेका हुन्।
विराटनगर उच्च अदालतमा आफूविरुद्धको बलात्कार मुद्दामा सुनुवाई चलिरहकै बेला गिरी भने अदालतमानै उपस्थित नभइ भारततर्फ भागेका हुन्। जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा ‘पुनरावलोकन’ मुद्दा दायर गरेको थियो।
गत पुस २३ गते दर्ता भएको मुद्दामा उच्च अदालत विराटनगरले बिहीबार तेस्रो पटक पेशी तोकेको थियो। बिहीबार उच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलाशमा सुनुवाई भइरहेको छ। बिहीबार बिहान सुनसरीको चतरास्थित आश्रमबाट उच्च अदालत जान भनेर हिँडेका सिद्धबाबा अदालत नै नपुगी जोगबनी नाकातर्फ लागेका थिए।