काठमाडौं– नायिका जसिता गुरुङ, भाग्यमानी नायिका मध्येकी एक हुन्। जसले छोटो समयमा नै स्टार नायकसँग टाइअप गर्ने अवसर पाएकी छिन्।
चलचित्र क्षेत्रमा स्टार नायकको रुपमा चिनिएका प्रदिप खड्कासँग उनले डेब्यू चलचित्र ‘लिलिबिली’ मा काम गर्ने मौका पाइन्। यो चलचित्रमा उनले गरेको अभिनयलाई सर्वाधिक रुचाइयो। यसपछि उनी र नायक खड्काको प्रेम चर्चा पनि चल्यो।
तर दुबैले कहिले पनि प्रेम सम्बन्धलाई स्विकार भने गरेनन्। बरु, दोश्रो चलचित्र ‘लभ स्टेशन’ मा पनि एकसाथ सहकार्य गरे। यो चलचित्र बक्स अफिसमा असफल हुँदा जसिता हच्किइन्। जसिताले तेश्रो चलचित्रको रुपमा नायक धिरज मगरसँग ‘आई एम ट्वान्टी वान’ मा काम गदैछिन्।
धिरज पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट नै उदाइसकेका थिए। उनको फ्यान क्रेज गज्जब देखिएको थियो। तर, दोश्रो चलचित्र बजारमा आउन समय लाग्दा धिरजलाई समस्या पर्न सक्छ।
जसिताले आफ्नो करिअरको चौथो चलचित्रको रुपमा नायक अनमोल केसीसँग ‘एन्टी हिरो’ मा टाइअप गरेकी छिन्। अनमोल चलचित्र क्षेत्रमा यतिबेला बलेका नायक हुन्। अनमोलसँग सहकार्य गर्ने नायिकाको करिअर उचाइमा पुगेको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरी, सुहाना थापा यसका उदाहरण हुन्।
यसैले पनि स्टार नायकहरुसँग जसिताको टाइअप छोटो समयमा नै जुन तरिकाले देखिएको छ, यो लोभलाग्दो छ। जसिता आफूले भने पाएको यो अवसरलाई कसरी सदुपयोग गर्ने हुन्, यो भने हेर्न बाँकी छ।