काठमाडौँ, २४ माघ – चर्चित लेखक सुबिन भट्टराईले चलचित्र निर्देशन गर्ने भएका छन्। भविष्यमा आफैँ चलचित्र निर्देशन गर्ने सोचमा रहेको बताउँदै उनी पुस्तक लेखनसँगै चलचित्र निर्देशकसमेत बन्ने भएका हुन्।
लेखक भट्टराईले ‘समर लभ’, ‘साया’, ‘प्रिय सुफी’, ‘मनसुन’जस्ता सफल पुस्तक लेखिसकेका छन्। उनका हरेक नयाँ पुस्तक युवापुस्तामाझ निकै लोकप्रिय बनेको छ। अहिले उनको नयाँ पुस्तक ‘प्रिय सुफी’ले पनि निकै चर्चा कमाइरहेको छ।
त्यस्तै उनको चर्चित उपन्यासमध्ये ‘समर लभ’ एक हो। यसलाई लिएर अहिले चलचित्र निर्माण भइसकेको छ। चलचित्र ‘समर लभ’ यही शुक्रबारबाट प्रदशनमा आउँदै छ। नेपालमा कृतिमाथि आधारित भएर निकै चलचित्र निर्माण भए। तर, चलचित्रले पुस्तकलाई न्याय गर्न नसकेको आरोप लाग्दै आएको छ।
अपवादलाई छाड्ने हो भने पुस्तकमाथि बनेका चलचित्रले घरेलु बजारमा राम्रो पैसा कमाइ गर्न पनि सकेका छैनन्। लेखक भट्टराईलाई पनि पुस्तकको इज्जत चलचित्रले जोगाउला कि नजोगाउला भन्नेमा ठूलो चिन्ता छ। चलचित्र हेरेपछि भने उनमा ‘कन्फिडेन्ट लेभल’ बढेको छ। सोमबार राजधानीमा पत्रकारसँँग कुरा गर्दै भट्टराईले चलचित्रले पुस्तकलाई न्याय गरेको बताए। पुस्तकको मर्म चलचित्रले मर्न नदिएकोमा पनि उनले खुशी व्यक्त गरे। चलचित्र हेरिरहँदा आफूले लेखेका केही विषय दुरुस्तै पाएको उनको भनाइ छ। उनी भन्छन्, ‘इमोशनल पाटोमा त मेरो आँखा नै रसाएकोे थियो।’ उनले थपे, ‘पुस्तकमा जसरी कथा बगेको छ, चलचित्रमा पनि त्यसरी नै बगेको छ। पुस्तकलाई चलचित्रमा ठ्याक्कै उतारिएको छ। पुस्तक पढ्ने र नपढ्ने दुवै दर्शकलाई चलचित्रले निराश बनाउँदैन।
उनी चलचित्रको ट्रेलर हेरेपछि आफ्ना प्रशंसकहरू कसैबाट पनि प्रतिक्रिया राम्रो नआएको सुनाउँछन्। यस चलचित्रमा अतीतको भूमिकामा कलाकार आशिष पिया सुहाउँदो नभएको प्रतिक्रिया आफूले धेरै पाएको उनले बताए। उनी स्वयं पनि पात्र चयनमा सन्तुष्ट छैनन्। निर्देशक र कलाकारकै अगाडि उनले भने, ‘म लेखक भएका कारण पुस्तकको जस्तै चरित्र भेटेको भए राम्रो हुन्थ्यो भन्ने लाग्नु स्वाभाविकै हो। तर, चलचित्र हेरेपछि भने म पोजेटिभ छु।’
पुस्तक पढेकाले भन्दा नपढेकाले चलचित्रबाट बढी मनोरञ्जन लिनेमा उनको विश्वास छ। पुस्तक पढेकाहरू ‘जजमेन्टल’ हिसाबमा जान्छन्। उनीहरू कमीकमजोरी बढी खोज्छन्। तर, पुस्तक पढेका वा नपढेका जो कोहीले पनि चलचित्र रुचाउँछन् भन्नेमा पनि लेखक भट्टराई विश्वस्त छन्।उनी आफूलाई पुस्तकसँगै चलचित्रका कथा लेख्ने चाहना पनि अत्यधिक रहेको बताउँछन्।
उनलाई पुस्तक लेख्नुभन्दा अगाडि चलचित्रका लागि कथा लेख्ने चाहना थियो। केही लेखेर त्यसै थन्किएको उनले बताए। ‘भोलिका दिनमा अफर आयो भने चलचित्रका लागि पनि कथा लेख्छु,’ भट्टराईले भने।उनले भने, ‘म चलचित्र निर्देशन गर्ने सोचमा समेत छु। त्यो कहिले पूरा हुन्छ थाहा छैन तर हतार भने गर्दिनँ।’ विस्तारै चलचित्र क्षेत्रका व्यक्तिसँग सङ्गत बढिरहेको बताउँदै उनले आफूले चलचित्रका लागि थुप्रै कथाको खेस्रा तयार पारेको पनि बताए। भट्टराई अब चलचित्र र पुस्तक लेखनलाई एकसाथ लैजाने सोचमा छन्।