दमक– सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाईं रहेका छन्।
गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा टेम्पु दुर्घटना हुँदा उनको मृत्यु भएको हो। दुर्घटनामा परी सोही वडाका बबिता गनगाईं र निलम गनगाईं सामान्य घाइते भएका छन्।
टेम्पु अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको थियो। मृतक गनगाईंको शव परीक्षणका लागि किसनगञ्ज अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताएका छन्। रासस