एजेन्सी– धुम्रपान मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ। तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ।
शहरीकरण बढेसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानु दिन बढ्दो छ। भविष्यमा महिलालाई धुम्रपान निकै महंगो बन्न सक्छ। उनीहरुले सेवन गरेको धुम्रपानले उनीहरुमा गर्भपतन मात्र होइन विभिन्न समस्या पैदा पनि गराउँछ।
भ्रुणको विकासमा रोकः
गर्भावस्थामा महिलाले धुम्रपान गर्दा भ्रुणको विकासमा रोकावट आउने डाक्टरहरु बताउँछन्। त्यतिमात्र होइन बच्चाको प्रजनन् क्षमतामा समेत नराम्रो असर देखापर्छ।
गर्भपतनको खतराः
चुरोट वा बिडि सेवन गर्ने महिलालाई गर्भावस्थामा विभिन्न समस्याहरु देखापर्छन्। जसले महिलाहरुमा बाँझोपन तथा गर्भपतनको समस्था पैदा गराउँछ।
स्तनपानः
जुन महिलाले धुम्रपान गर्छिन् ति महिलाहरुको स्तनमा दुधको मात्रा कम हुन्छ। जसले उनको बच्चामा नकारात्मक असर पर्छ।
बच्चामा कुपोषणः
अनुसन्धानमा उल्लेख भएअनुसार यदि आमाले गर्भावस्थाको सुरुको अवस्थामा चुरोट पिउने गरेकी छिन् भने उनको सन्तान कुपोषणको सिकार हुन्छन्। गर्भमा बच्चा हुँदा चुरोट पिउने महिलाको सन्तानलाई पोषण तत्वको कमि हुन्छ।
मुटु, फोक्सो र मृगौलामा असरः
चुरोट पिउने महिलाहरुमा ‘कोरोनरी हर्ट डिजिज’ जस्तो मुटुको रोग लाग्न सक्छ। त्यसैगरी फोक्सोमा चुरोटको धुँवाले असर गर्छ। पुरुषसरह धुम्रपान गर्ने महिलालाई फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ। साथै, दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बिग्रिने सम्भावना ५१ प्रतिशतले बढी हुन्छ।
चाउरीपनाः
पुरुषको तुलनामा महिलाको छाला धेरै मुलायम र कमजोर हुन्छ। त्यसैले चुरोटको असर महिलामा बढी हुन्छ। जुन महिला चुरोट पिउँछन् ति महिलामा चाउरीपन, डार्क सर्कल र ओठमा कालोपनको समस्या बढी हुन्छ।
दमः
धुम्रपान गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्छ। अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आउँछ र दम जस्तो गम्भीर रोग लाग्छ।