बाँके– बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले २ सय ५७ वटा अवैध खसी नियन्त्रणमा लिएको छ। प्रहरीले राप्ती सोनारी गाउँपालिकाको कुसुममा रहेको जङ्गलमा रा १ ख २८१ र रा १ ख १०९८ नम्बरका दुई वटा ट्रक र म १ ख ८२८ नम्बरको बसमा लोड गरिराखेको अवस्थामा खसी बरामद गरेको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
उनका अनुसार उक्त खसीको बजार मूल्य करिब रु ३५ लाख रहेको छ। प्रहरीका अनुसार बरामद गरिएका खसीलाई काठमाडौँ लैजाने तयारी गरिएको थियो। खसीसहित चालक दलका सदस्यलाई पक्राउ गरिएको छ।
प्रहरीले जाँचका क्रममा खसी लैजाने गाउँपालिकाको सिफारिस र पशु क्वारेन्टाइन कार्यालयको पत्रमा शङ्का लागेपछि थप अनुसन्धानका लागि खसी नियन्त्रणमा लिएको जनाइएको छ।