काठमाडौं – नेपाल एयरलाइन्सका २५ जना पाइलटले एकैपटक राजीनामा दिएका छन्। नेपाली पाइलटलाई भन्दा विदेशी पाइलटलाई सेवा सुविधा बढी दिने गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।
विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएका छन्। ९० दिनको समयसीमा दिँदै उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्।
व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने तर बढि सेवा सुविधा विदेशी पाइलटलाई दिइएको आरोप उनीहरुको छ। उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्नु पर्ने माग राखेका छन्।
यसो नभए नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिए। तीन महिनासम्म पनि माग सम्बोधन नभए उनीहरुले काममा नआउने चेतावनी समेत दिएका छन्।