काठमाडौं– हामी जीवनलाई सही र सार्थक ढंगले अगाडि बढाउनको लागि सही परिधी र सीमाहरुमा रहेर राम्रो बाटोमा हिँडाउने प्रत्यन्न गर्छौं। हामी सम्झन्छौं, अनुशासन भनेको अरुको लागि राम्रो कार्य गरिदिनु जस्तो लाग्छ।
अर्थात अरुको अगाडि आफु सभ्य, शिक्षित देखाउनका लागि हामीले गर्ने अभ्यास नै अनुशासन हो भन्ने लाग्छ। त्यसैले हाम्रो अनुशासन देखावटी हुन्छ। अनुशासन भन्दा पनि आत्मअनुशासन महत्वपूर्ण छ। आत्मअनुशासन भनेको आफुले आफैलाई निश्चित सर्त र सीमाभित्र बाँध्नु हो र अनैतिक कामहरुबाट आफुलाई रोक्नु हो। जब हामी आत्मअनुशासित हुन्छौं, जीवन धेरै हदसम्म सार्थक हुन्छ।
आत्मअनुशासनले मानिसकाे जीवन, घर–परिवार, करियर, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सकरात्मक असर पार्दछ।
स्वास्थ्य- हामीले आत्मअनुशासन आफ्नै स्वास्थ्यका खातिर पालना गर्न सकिन्छ। सोच चिन्तनको लागि गर्न सकिन्छ। अर्थात निश्चित सीमा र सर्तहरु आफैमाथि लागु गर्न सकिन्छ।
दिनचर्या- अनुशासित दिनचर्या पालना गर्न हाम्रो दैनिक जीवनयापनको कुरा पनि हो। जस्तो नियमित सुत्ने र उठ्ने तालिका निर्धारण गर्ने, निश्चित समयमा सुत्ने, निश्चित समयमा उठ्ने, दिनभर काम गरिरहँदा सकारात्मक ढंगले गर्ने र कामप्रति लगाव राखेर हरेक कामलाई रचनात्मक ढंगले गर्न प्रयास गर्नु हो।
त्यसैले जोशिला, उर्जावान, सकारात्मक, कर्मठ, मेहनती, सिर्जनशिल साथीहरुको सर्कल बनाउने, त्यही सर्कलमा आफुलाई घुलनसिल बनाउने। दैनिक तालिका नै अनुशासित भएमा हाम्रो लय विग्रदैन, जब जीवनमा लय हुन्छ, त्यसले धुन पैदा गर्छ र जीवन मधुर हुन्छ।
खानपानमा- खानपानमा हामीले धेरै लापरवाही गर्छौं। नखानुपर्ने खान्र्छौं, नखानुपर्ने समयमा खान्छौं। यहि कारण हामी रोगी हुन्छौं। हामी नेपालीको हकमा त यो कुरा अझ बढी लागु हुन्छ। किनभने अधिकांश नेपाली पेटको रोगले ग्रस्त छन्।
जबकी रोगको भण्डार नै पेट भएपछि शरीर कसरी स्वस्थ्य हुन्छ? चिल्लोचाप्लो, मसलेदार खानेकुरा खान्छौं। जंकफुड वा फास्टफुडमा रमाउँछौं। मैदाजन्य वा प्याकेटबन्द खानेकुरामा लोभिन्छौं। यसर्थ खानपानमा पनि हामी अनुशासित हुनुपर्छ।
खानपानको निश्चित तालिका निर्धारण गर्नुपर्छ। दिनमा कति पटक खाने, के के खाने भन्ने कुरा पनि निर्धारण गर्नुपर्छ। त्यसैले हामीले अरुलाई देखाउनका लागि वा अरुको सामुन्ने सभ्य देखिन होइन, आफ्नै स्वास्थ्यका खातिर अनुशासित खानपान शैली अपनाउनुपर्छ।