काठमाडौं– राष्ट्रपति विद्या देवी भण्डारीले चीनको नयाँ वर्षको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै शुभकामना सन्देश पठाएकी छिन्।
राष्ट्रपति भण्डारीले पहिलो पटक भिडियो मार्फत शुभकामना सन्देश पठाएकी हुन्। राष्ट्रपति कार्यालय स्रोतको अनुसार नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएकी छिन्।
टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ। यसको चिनियाँ भाषानुवाद नेपालस्थित चिनियाँ रेडियो इन्टरनेसनल (सीआरआई)का लागि नेपालबाट काम गर्ने वर्षा (झाङ यूइ)ले गरेकी छन्।
राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको छ। जनवरी २५ देखि १५ दिनसम्म चीनले नयाँ वर्ष मनाउँदै आएको छ।