एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा बलियो पकड बनाएको छ। बिहीबार राति वल्भ्सलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको हो।
लिगमा अपराजित लिभरपुलको २३ खेलबाट ६७ अंक पुगेको छ। जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा १६ अंक बढी हो। लिभरपुलले अझै एक खेल कम खेलेको छ। सिटीको २४ खेलबाट ५१ अंक छ। लिगमा अपराजित रहने क्रममा लिभरपुलले २३ खेल खेल्दा २२ जित र १ बराबरीको नतिजा निकालेको छ । जुन क्लबको हालसम्मकै उच्च प्रदर्शन हो।
मोलेनक्स स्टेडियममा लिभरपुलको जितमा जोर्डन हेन्डरसन र रोबर्टाे फिर्मिनोले गोल गरे। घरेलु टोलीका राउल जिमिनेजले एक गोल फर्काए। खेलको आठौं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको गोलबाट लिभरपुल खेलमा अघि बढेको थियो। हेन्डरसन टेन्ट्र एलेक्सन्डर अर्नाेल्डको कर्नरमा हेडरमार्फत गोल गर्न सफल भएका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको सुरुमै गोल खान पुगेको थियो। एडमाको क्रस पासमा राउल जिमिनेजले हेडरमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।
खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्राजिलियन फरवार्ड फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा पुनः २–१ को अग्रता दिलाए। जोर्डन हेन्डरसनको पासमा फिर्मिनोले पेनाल्टी बक्सभित्रबाट गोल गर्न सफल भए।त्यसपछि गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो। हारपछि वल्भ्स २४ खेलबाट ३४ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ।