एजेन्सी– कोरोना भाइरस जनवारबाट सर्ने रहस्यमयी भाइरस हो। रहस्यमयी भनिएको कोरोना भाइरस वुहान सहरबाट चीनको अन्य प्रान्त र विश्वका विभिन्न देशमा समेत फैलिएको छ। महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस विश्वकाे लागि खतरा बन्ने अनुमान गरिएकाे छ।
नेपालमा पनि यसकाे संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ। चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा पनि कोरोना भाइरस भेटिएकाे जनाएकाे छ। चीनमा फैलिएकाे यस भाइरसका कारण धेरै मानिसहरू प्रभावित भएका छन्।
युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको मन्त्रालयले बताएकाे छ।
सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो। सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स) बाट करीब ८५८ जनाको मृत्यु भएको थियो। अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण चिनलगायत विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ।
चीनमा पाइएको कोरोना भाइरस नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो। यो भाइरस पनि खतरानक रहेको जनाइएको छ। यो भाइरस कहाँबाट आएको हो भन्ने खुलिसकेको छैन्। अहिलेसम्म कोरोना भाइरसकै कारण चिनमा २५ जनाले ज्यान गुमाइसकेका छन्।
यसको लक्षणहरु
रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो।
सर्ने तरिका
सामान्य रुघाखोकीजस्तै श्वासप्रश्वासको माध्यमबाट सर्ने गरेको अनुसन्धानले देखाएको छ। मृत्यु भएका १७ मध्ये अधिकांश वृद्ध पुरुष र अन्य स्वास्थ्य समस्याबाट प्रभावित भएका मानिस चीनले बताएको छ। यो भाइरस कसरी सर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ। यसको पूर्ण विवरण आएपछि मात्र यो भाइरस कसरी सर्छ भन्ने थाहा पाउन सकिन्छ।
कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो। रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै यस बाट बच्ने उपाय हो।