काठमाडौं– नेपालमा पहिलाे पटक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव हुने भएकाे छ। डिएआर मुभिजको आयाेजनामा आउँदो फागुन १६ गतेदेखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव’ हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे छ।
महाेत्सव आयाेजनाकाे मुख्य उद्देश्य भ्रमण वर्ष २०२० लाई प्रचार गर्नु र काँठे क्षेत्रका लोकदोहोरीकाे पहिचान तथा संरक्षण गर्नु रहेकाे छ। ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ महोत्सव आयोजना गरिन लागेको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिएका छन्।
काठमाडौं आसपासका तत्कालिन ११ जिल्लालाई काँठे जिल्लाका रुपमा चिनिन्थ्यो। तीनै ११ जिल्लाका लोकगीत, घाँसेगीत, सेलो, खैजेडी भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडी, झाँकी, धिमेलगायतका गीतसँगीत तथा रहनसहन, खाना, वाध्यवादन तथा भेषभूषाको प्रवर्द्धन गर्नकाे लागि महाेत्सव महत्वपूर्ण रहेकाे आयाेजककाे भनाइ छ।
काँठे लोकदोहोरी महोत्सव प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले दुई लाख, तेस्रोले एक लाख र तथा सान्त्वना पुरस्कार ५० हजार प्रदान गरिने आयाेजकले जनाएकाे छ। महाेत्सव प्रवेशकाे लागि कुनै शुल्क लाग्ने छैन।