काठमाडौं– बजारमा तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक आउने चर्चा चलिरहँदा अभिनेता आर्यन सिग्देलले भने रिमेकमा आफुलाई अफर नआएको बताएका छन्। केही दिनयता तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा अभिनेता आर्यन सिग्देलको मूख्य भुमिका रहने भन्दै केही मिडियामा समाचार आएका थिए।
ती समाचारको खण्डन गर्दै सिग्देलले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा काम गर्ने कुरा आफैँलाई थाहा नभएको बताएका हुन्। आर्यनले सामाजिक सञ्जाल फेसबूकमार्फत आफू उक्त फिल्मको हिस्सेदार नभएको र यसबारेमा मेकरले कुरा नगरेको जानकारी दिएका छन्।
साथै उनले टिमलाई शुभकामना दिँदै फिल्मको तारिफ समेत गरेका छन्। चलचित्रको हिन्दी रिमेकमा शाहिद कपूरको मूख्य भुमिका रहेको ‘कबीर सिंह’ बलिउडमा निकै चर्चित छ। त्यस्तै ‘अर्जुन रेड्डी’ मा विजयले शीर्ष भूमिका निभाएका थिए।
एक सन्की डाक्टरको कथा रहेको यो फिल्म युवापुस्तामाझ लोकप्रिय छ। यही लोकप्रियताका कारण फिल्मको नेपाली रिमेक बनाउनका लागि युवा फिल्मसले राइटस् खरिद गरेको हो।