बैतडी– बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला स्थायी घर भई कञ्चनपुरको महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको यही माघ १३ गते बैतडीकै प्रकाश टेरसँग विवाह हुँदै थियो।
घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो। आफ्नो विहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन्। रमिताले साथीहरुलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन। निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भयो।
बैतडीको महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा उनी स्नातक तहमा अध्ययनरत थिइन्। उनी डेढ बर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर आएकी थिइन्। टेरसँगै बसिरहेकी उनलाई अन्तर्जातीय बाहुन–क्षत्री सम्बन्ध भएकाले माइती पक्षले स्विकार गरेको थिएन। अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो।
‘माघ १३ मा विवाहको तयारी थियो। हामीहरु सरसामान जुटाउनदेखि निम्तो बाँड्ने काममा जुटेका थियौं’, रमिताका ससुरा हरिसिंह टेरले फोनमा भने, ‘खबर सुनेपछि सबै कुरा भताभुङ्ग भयो, कामधाम सबै छाडेर हामी महेन्द्रनगर आउँदैछौं।’ उक्त घटनाले सबैलाई स्तब्ध बनाएकाे छ।