काठमाडौं– नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन्।
व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन्। अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ। निगममा १३ विदेशी क्याप्टेन छन्। तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन। निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ।
राजिनामा दिने पाइलटमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेश कुमार गुप्ता, सुनील श्रेष्ठ, समज कुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराई रहेका छन्।