काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ (राजनीतिक) सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन्।
प्याकुरेलले आफ्नो राजीनामा पत्रमा राष्ट्रपति संस्थाको विज्ञ सल्लाहकारको रुपमा औपचारिक परिधिभन्दा बाहिर रहेर काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै राजीनामा दिएको उल्लेख गरेका छन्। तर, राष्ट्रपति भवन शीतल निबास स्रोतको अनुसार अग्नि सापकोटालाई सभामुख बनाउन लागिएकोप्रति असन्तुष्टि जनाएर प्याकुरेलले पदबाट राजीनामा दिएका हुन्।
प्याकुरेलले अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा असन्तुष्टि जनाउदै आएका थिए। प्याकुरेल संस्थापक रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सापकोटालाई सभामुख बनाउने निर्णयको औपचारिक रुपमा नै विरोध जनाएको थियो।
मानव अधिकार आयोगको पूर्व आयुक्त रहिसकेका प्याकुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित (कर्तब्य ज्यान)को मुद्दामा सापकोटालाई विपक्षी बनाएर २६ चैत २०७२ मा सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए।