तस्विरः अनलाइन खबर
कास्की – गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ परेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार गुरुङविरुद्ध बैंकिङ्ग कसुर र ठगीसँग सम्बन्धित उजुरीहरु परेका छन्। त्यसैले अनुसन्धानको लागि पक्राउ गरिएको हो।
प्रहरीले गुरुङलाई पोखराको गैरापाटनबाट नियन्त्रणमा लिइएको हो। बुधबार मात्रै गुरुङले दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका थिए। मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङ्गेले गुरुङलाई कुटपिट गरेका थिए।