काठमाडौं– पिआरपी ट्रिटमेन्ट एक प्रकारको उपचार हो जसकाे प्रयाेग कपाल झर्ने र कपाल पातलो हुने समस्या समाधान गर्न गरिन्छ। यसलाई प्लेटलेट रिच प्लाज्मा पनि भनिन्छ। यो उपचार कपाल झर्ने समस्या भएका महिला र पुरुष दुवैमा गर्न सकिन्छ।
उपचार कसरी गर्ने?
यो उपचार विशेष गरि बंशाणुगत र अन्य रोगको कारणले कपाल पातलो भएको या झर्दै गएको अवस्थामा गरिन्छ। यसको उपचार गर्दा सबैभन्दा पहिला रगत निकालिन्छ। रगत आवश्यकता अनुसार १० देखि २० मिलिलिटर सम्म हेरेर निकालिन्छ।
प्लाज्माबाट प्लेटलेट निकाल्न त्यसलाई सेन्ट्रिफ्युज गरिन्छ। जसलाई १५०० रोटेसन पर मिनेटमा र दोस्रो १५ मिनेटको लागि २५०० रोटेसन पर मिनेटमा गरिन्छ। बढिजसो सबैले यहि विधि प्रयोग गर्छन् तर सेन्ट्रिफ्युजको बारेमा विश्वभर नै अनुुसन्धान जारी छ।
उपचार कत्तिपटक आवश्यक?
प्लेटलेट रिच प्लाज्मा उपचार महिनाको एकपटक गरिन्छ। यो उपचार ४ देखि ६ पटक गरिन्छ। पुरै रिजल्ट देखिन केहि समयलागे पनि पहिलो उपचारबाटै कपाल झर्न रोकिन्छ।
उपचारले कस्तो प्रभावकारिता देखाउँछ?
कपाल पातलो भएको र झर्ने प्रकृयामा उत्कृष्ट रिजल्ट देखिन्छ ।कपाल नै नभएको ठाँउमा यसले काम गर्दैन। त्यसका लागि कपाल प्रत्यारोपन नै गर्नुपर्छ। नेपालमा यो उपचार सुरु भएको एक वर्ष भन्दा बढि भइसकेको छ। उपचार गराएकाहरुबाट पनि राम्रो प्रतिक्रया छन्।
कपाल झर्नुका प्रमुख कारणहरु
१. कपाल विभिन्न कारणले झर्न सक्छ,वंशाणुगत कारणले पनि झर्छ जसलाई एन्ड्रोजेनेटिक एलोपेसिया भनिन्छ।
२. यो कपाल झर्ने रोग भने होइन। एन्ड्रोजेनेटिक एलोपेसियामा कपाल विस्तारै पातलो हुँदै जान्छ र अन्तमा हराएरै जान्छ।
३. यसका अलावा विभिन्न कारणको रोगहरु लागेमा, औषधी खाइरहेको अवस्थामा पनि कपाल झर्न सक्छ।
४. कपाल प्याच्च प्याच्च झर्ने रोगलाई एलोपेसिया एरियाटा भनिन्छ।