एजेन्सी– इराकमा अमेरिकी सेना हटाउन माग गर्दै दशौँ लाख मानिस सडकमा उत्रेका छन्। शुक्रबार राजधानी बग्दादमा विशाल प्रदर्शन भएको छ। सिया धर्मगुरु मुक्तदा अल सद्रको आह्वानमा यो प्रदर्शन भएको थियो।
अमेरिकाले जनवरी ३ मा इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इराकबाट अमेरिकी सेना हटाउनुपर्ने माग बलियो बनेको छ। इराकी संसदले समेत अमेरिका सेना हटाउनुपर्ने संकल्प प्रस्ताव पारित गरेको थियो।
इराकको केन्द्रीय सरकारी कार्यालय तथा अनेकौं विदेशी दूतावासहरू रहेको ग्रीन जोन जाने सडक र पुलहरूलाई कंक्रिट ब्यारियर ठड्याएर रोकिएको छ। इराकका सुरक्षाबलहरूले ग्रीन जोन जाने ढोकाहरू रोकिरहेका छन्।
विरोधकर्ताहरू बग्दाद र देशका दक्षिणी प्रान्तहरूबाट आएका हुन् र उनीहरू जदरिया टोलसम्म पैदलै पुगेर भेला भएका थिए। उनीहरूले इराकी झण्डा फर्फराएका थिए र प्रतीकात्मक कात्रो ओढेका थिए। सरकारी कार्यालय र विदेशी दूतावास रहेको बगदादको ग्रिन जोनमा यसबीचका अनेकौं रकेट आक्रमण भइसकेको छ। हाल इराकमा ५ हजार अमेरिकी सेना छन्।