एजेन्सी– ट्रम्प प्रशासनले गर्भवती महिलालाई अमेरिका प्रवेशमा कडाइ गरेको छ। बच्चा जन्माउने बेलामा मात्र अमेरिका जाने र त्यहाँको अस्पतालमा बच्चा जन्माएर त्यही जन्म प्रमाणको आधारमा सन्तानलाई अमेरिकी नागरिकता दिलाउने प्रवृति बढेपछि अमेरिकाले गर्भवतिलाई भिसा दिन कडाइ गरेको हो।
अमेरिकाले बिहिबार नयाँ भिसा नियम सार्वजनिक गरेको छ। अब गर्भवतीलाई भिसा दिने वा नदिने निर्णय कन्सुलरको स्वविवेकका आधारमा हुनेछ। यदि कन्सुलरलाई भिसा आवेदन दिने गर्भवती महिला बच्चा जन्माउनकै लागि अमेरिका जान लागेको भन्ने लागेमा उनले भिसा आवेदन खारेज गर्न सक्नेछन्।
अब बच्चा जन्माउनका लागि नभइ मेडिकल आवश्यकताले अमेरिका जान भन्दै आवेदन दिनेलाई उनीहरुले त्यसका लागि पैसा खर्च गर्न सक्छन् वा सक्दैनन् भनेर हेरिनेछ। गर्भवती महिलाका लागि पनि उपचार खर्च, यातायात र बसोबास खर्चको प्रमाण खोजिनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘जन्म पर्यटन’ प्रतिबन्ध गर्ने उद्देश्यलाई साकार बनाउने उद्देश्यसहित नयाँ भिसा नियम आएको हो।
बच्चा जन्माउनकै लागि गर्भवती महिला अमेरिका प्रवेश गर्ने र जन्मका आधारमा पासपोर्ट माग्ने गरेको भन्दै ट्रम्पले उनीहरुको भिसालाई कडाइ गर्ने यसअघि नै बताउँदै आएका थिए। ‘बर्थ टुरिजम’ अर्थात् ‘जन्म पर्यटन’ एजेन्सी सञ्चालकलाई किर्ते गरेको र कर छलेको आधारमा पक्राउ गरिएको केही घटना भए पनि अमेरिकामा बच्चा जन्माउन जानुलाई मौलिक रूपमा कानुनी अभ्यास मानिन्छ।
भिसाका लागि आवेदन दिँदा महिलाहरुले सत्य नै बोल्ने गरेका छन्। उनीहरुले कन्सुलर समक्ष चिकित्सक र अस्पतालसाग गरिएका हस्ताक्षरयुक्त करार पनि देखाउने गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले बच्चालाई नागरिकता पाउने वातावरण बनाउनका लागि मात्रै अमेरिका प्रवेश गर्नु भनेको ‘बर्थ टुरिजम’ भएको आरोप लगाउँदै यो कार्य अवैधानिक भएको जिकिर गरेको छ।