पाल्पा– यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ। तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी ल्याएको हो। नगरपालिका–१३ छेर्लुङका ४७ घरपरिवारमा सोलार जडान गरिएको हो।
कालीगण्डकी नदी नजिकैको बस्तीमा वर्षाैदेखि विद्युत्को पहुँच बाहिर रहेका बस्ती अँध्यारोमा नै रात बिताउनुपर्ने बाध्यतामा थिए। यहाँका २२ बोटेमाझी, चार दलित र अन्य जातिका घरमा सोलार जडान गरी उज्यालो बनाउने काम सम्पन्न भएकोे तानसेन नगरकार्यपालिका सदस्य कमला भण्डारीले बताएका छन्।
सोलार जडानपछि रातमा घरभित्र र बाहिर उज्यालोसँगै मोबाइल चार्ज, रेडियो, टिभीलगायतका आमसञ्चारमा यहाँका स्थानीयवासीको पहुँच विस्तार भएको छ। टुकी बाल्दा पैसा धेरै खर्च हुँदा यहाँका स्थानीयवासी चिन्तित थिए। नगरपालिकाले घरमा निःशुल्क सोलार बत्ती जडानगरेपछि मोमाइल चार्ज, बालबालिकाको पठनपाठन, सञ्चार तथा नियमित घरायसी काम निकै सहज बनेको छ।
सोलार जडानले मासिक खर्चसमेत कम भएको र महिलालाई टुकीकै भरमा खाना पकाउनुपर्ने बाध्यता हटेको वडासदस्य राधा विश्वकर्माले बताएका छन्। माझी समुदायमा नगरपालिकाले निःशुल्क सोलार जडान गरेपछि स्थानीय ओमबहादुर माझी खुशी छन्। ‘टुकी उज्यालोभन्दा सोलारको उज्यालो राम्रो लाग्यो, टुकीले स्वास्थ्यमा असर हुने र खासै उज्यालो हुँदैनथ्यौ’, माझीले भने।
छेर्लुङका होमनाथ भट्टराईले वर्षौंदेखि रातको समयमा उज्यालोमा बस्ने रहर पूरा भएको बताएका छन्। छ दशक उमेर पार गरेका भट्टराईले सोलारको उज्यालोले रातमा घरायसी काम गर्न सहज भएको बताएका छन्।
‘सोलारले गाउँ नै उज्योलो बनेको छ। विवाह, व्रतबन्धलगायतका शुभकार्यसमेत उज्यालोका कारण सजिलो हुँदै आएको छ, भट्टराईले बताएका छन्। स्थानीयवासी पुरन विकले बालबालिकालाई साँझ लेखपढ गर्न सजिलो भएको बताएका छन्। टुकीकै भरमा रातिमा पढ्दा धुवाँले अनुहार पनि कालो हुने र स्वास्थ्यमा समेत असर गरेको स्थानीयवासीको भनाइ छ। (रासस)