एजेन्सी– अमेरिकाको एउटा टापुबाट उडेको केही मिनेटमै नियन्त्रण बाहिर गएपछि आपत्कालीन अवतरण गरेको एक यात्रुवाहक विमानमा रहेका एक नेपालीले बीबीसीसँग ‘त्रासदीपूर्ण’ घटनाको बयान गरेका छन्।
सन् २००८ देखि अमेरिकामा बस्दै आएका नेपाली शम्भु आचार्य उक्त विमानमा सवार थिए। सी फ्लाइट नाम गरेको कम्पनीले सञ्चालन गरेको विमानमा समस्या देखिए परेपछि समुद्रमा आपत्कालीन अवतरण गर्नुपरेको भर्जिनआइल्याण्ड्स अनलाइनले जनाएको छ।
स्थानीय अनलाइन भीकोन्सोर्टीयमले एक चालकसहित आठजना सवार विमानले बिहान ९ बजेर २९ मिनेटमा इमर्जेन्सी कल सेन्टरलाई सी फ्लाइट ३९४ एसएफबारे जानकारी गराएको लेखेको छ।
‘विमान आधा डुब्यो’
सेन्ट टमसमा रहेको विमानस्थलबाट सेन्ट क्रोइका लागि यात्रुवाहक विमान चढेका आचार्यका अनुसार आपत्कालीन अवतरण गर्दाको अवस्था त्रासदीपूर्ण थियो।
विमानले उचाइ लिइसकेको अवस्थामा एकाएक गडबडी भएको महसुस भएको उनले बताए। आचार्यले विमानको इन्जिन फेल हुनसक्ने बताए पनि त्यसको पुष्टि भएको छैन।
आचार्य भन्छन्ः “ठूलो आवाजका साथ विमान झर्न थाल्यो। पाइलटले इन्जिन बन्द गरेर विमानलाई नियन्त्रण गरे जस्तो लाग्यो।’’ समुद्रमा झरे पछि विमान आधा डुब्यो। र केही समयपछि पानीमा तैरिन थाल्यो।पाइलट अनुभवी भएका कारण आफू बाँच्न सफल भएको उनी बताँउछन्।
शम्भु आचार्य
आफूलाई पौडी खेल्न नआउने भएकाले आचार्यले आफू लाइफ ज्याकेट लगाएर बसेको बताए। विमान झर्दै गर्दा यति नै रहेछ भन्ने महसुस भयो। छोराछोरी सम्झेँ। भगवान् सम्झेँ, घटना सम्झँदै उनले भने। बाँचेपछि भने दोस्रो जीवन पाए जस्तो महसुस भयो। पानीमा विमान ढलमल गरिरहेको र आफूलाई डर लागिरहेको उनी बताउँछन्।
समुद्रमा ठूलो छाल थियो। त्यसकारण पनि हामी यात्रु निकै आत्तियौँ। आचार्यका अनुसार त्यसको करिब २० मिनेटपछि उद्धार टोली आइपुग्यो। चारवटा डुङ्गामा सबै यात्रुलाई उद्धार टोलीले सुरक्षित फर्काएको उनले बताए।
को हुन आचार्य?
पेन्सीलभानीयामा बस्दै आएका आचार्य काठमाडौं, सङ्खमुलका बासिन्दा हुन्।पुर्ख्यौली घर भने झापाको दमकमा रहेको उनले बताए। उनको कम्पनीले केएफसी र बर्गर किङ्ग जस्ता कम्पनीहरूको फ्यानचाइज लिएको र सेन्ट टमसका साथै विभिन्न स्थानमा शाखा चलाइरहेको ५० वर्षीय आचार्यले बीबीसीलाई बताए।