एजेन्सी – विन्टर सिजनमा डर्टमन्ड भित्रिएका नर्वेका फरवार्ड अर्लिङ हालान्ड चम्कँदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ।
डर्टमण्डले एफसी कोल्नलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो।डर्टमन्डको जितमा हालान्डले दुई तथा राफेल गुरेरो, मार्काे रिउस र जाडोन सान्चोले गोल गरे। कोल्नका मार्क अर्थले सान्त्वना गोल फर्काए। खेलको पहिलो मिनेटमा नै जाडोन सान्चोको पासमा राफेल गुरेरोको गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए।
२९औं मिनेटमा माट्स हुमेल्सको पासमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे। सुरुवातमा रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता नदिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिए।
पहिलो हाफमा डर्टमण्डले २–० को अग्रता लिँदा दोस्रो हाफमा थप ३ गोल गर्दा एक गोल बेहोरेको थियो। ४८औं मिनेटमा कप्तान रिउसको पासमा जाडोन सान्चोले गोल गर्दै डर्टमण्डलाई फराकिलो जिततर्फ अग्रसर गराए। ६४औं मिनेटटमा मार्क अथले गोल गर्दै गोल अन्तर ३–१ मा झारे। त्यसपछि सब्सिच्युट अर्लिङ हालान्ड चम्किए।
अघिल्लो खेलमा अग्सवर्गविरुद्ध २३ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका हालान्डले ७७औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई ४–१ ले अघि बढाए। हालान्ड ६५औं मिनेटमा थोर्गन हजार्डको स्थानमा मैदान प्रवेश गरेका थिए।
हालान्डले मैदान प्रवेश गरेको १३ मिनेटभित्र गोल गर्न सफल भए। ८७औं मिनेटमा मामुदको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ५–१ को फराकिलो जित दिलाए। हालान्डले पछिल्लो दुई खेलमा ५ गोल गर्न सफल भएका छन्।

जितसँगै डर्टमन्ड १९ खेलबाट ३६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानको बायर्न म्युनिखसँग अंक बराबरी भएपनि डर्टमण्ड तेस्रो स्थानमा रहेको हो। शीर्षस्थानको आरबी लेइपजिग ४० अंकसहित शीर्षस्थानमा छ। कोल्न २० अंकसहित १३औं स्थानमा छ।