एजेन्सी– इटालियन सिरी ‘ए’ मा एसी मिलानले लगातार तेस्रो जित निकालेको छ । औसतको प्रदर्शन गरिहरेको मिलानले ब्रेसियामाथि उसकै मैदानमा १–० को जित निकालेको हो।
समग्रमा पछिल्लो पाँच खेलमा मिलानको यो चौथो जित हो। जसमा मिलानले एक बराबरी र चार जित हात पारेको छ। जसमा इटालियन कोपा कपको जित पनि समावेश छ। सिरी ‘ए’ मा साम्पडोरियासँग गोलरहित बरारीमा रोकिएको मिलानले त्यसपछि लगातार तेस्रो जित दर्ता गर्न गर्न सफल भएको हो। भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको आगनमनसँगै मिलानले लगातार चौथो जित दर्ता गर्न सफल भएको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलानको जितमा एन्टी रेविकले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
खेलको १८औं मिनेटमा इस्माइल बेन्टानकर चुक्दा मिलानले अग्रता लिने अवसर खेर फाल्यो। लगत्तै ज्लाटन इभ्राहिमोभिच पनि गोल गर्नबाट चुके। ३५औं मिनेटमा ब्रेसियाले खेलमा अग्रता लिने अवसर खेर फाल्यो। अर्नेस्टो टोरेग्रोसले मिलानका डिफेन्डर बिट गर्दै गरेको प्रहारलाई मिलानका गोलरक्षक एन्टेनियो डोनारुम्माले मुस्किलले बर्चा। लगत्तै कर्नरमा आएको बललाई पनि डोनारुम्माले विफल पारिदिए ।
६४औं मिनेटमा बे्रसियाले अर्काे अवसर खेर फाल्यो। घरेलु टोलीसँग लगातार दवाव झेलेको मिलानले ७१औं मिनेटमा अग्रता लिन सफल भयो। सब्सिच्युट रेविकले सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए। उनी ५८औं मिनेटमा राफइल लियोको स्थानमा मैदान छिरेका थिए।
८३औं मिनेटमा स्यामुइल क्यास्टिल्जोले मिलानका लागि अर्काे गोल गरेपनि मान्यता पाएन। ८७औं मिनेटमा मिलानका थियो हर्नान्डेजको प्रहार क्रसबारमा लागेर फर्कियो। त्यसपछि थप गोल निस्कन नसक्दा मिलान १–० ले विजयी हुन सफल भयो।
जितसँगै मिलान २१ खेलबाट ३१ अंक जोडेर सातौ स्थानमा उक्लिएको। ब्रेसिया १५ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ। युभेन्टस ५१ अंक जोडेर शीर्षस्थानमा छ।