काठमाडौं– गत तीन वर्ष– सन् २०१७, २०१८ र २०१९ मा बरामद गरिएका विभिन्न प्रकारका लागु पदार्थहरूको परिणाम कुनै दोबर त कुनै तेबरले बढेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका अधिकारीहरूले बताएका छन्।
लागु पदार्थ सेवन तथा कारोबारमा लागेकाहरूमध्ये प्रहरीले पक्राउ गरेको सङ्ख्या पनि गत तीन वर्षमा हरेक वर्ष झण्डै एकरएक हजारले बढेको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार सन् २०१७ मा ३ हजार ९ सय ४१ जना लागु पदार्थ कारोबार तथा दुर्व्यसनमा पक्राउ परेका थिए।सन् २०१८ मा उक्त सङ्ख्या ४ हजार ८ सय ९८ पुगेको थियो। गत वर्ष सन् २०१९ मा पक्राउ परेका ५ हजार ६ सय ७ जनामा २ सय ६ जना विदेशी नागरिक छन्।
दोबर र तेबरवृद्धि
बरामद गरिएका विभिन्न प्रकारका लागु पदार्थको परिणाम कुनै दोबर र कुनै तेबरले बढेको ब्यूरोका अधिकारीहरुले बताएका छन्। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालका अनुसार सन् २०१९ मा साढे १० हजार केजी गाँजा, २ हजार ६ सय केजी चरेस, करिब साढे ९ केजी हिरोइन, १२ केजी कोकेनलगायत लागु पदार्थ बरामद भएको छ।
त्यसको अघिल्लो वर्ष ४ हजार केजी गाँजा, एक हजार ५ सय केजी चरेस, ८ केजी हिरोइन, २ केजी कोकेनलगायत लागु पदार्थ बरामद भएको बस्यालले जानकारी दिए।
अधिकारीहरूका अनुसार अहिले ब्राउन सुगर, गाँजा जस्ता वस्तुको कारोबार ह्वात्तै बढेको देखिन्छ। ब्राउन सुगर र गाँजाको बरामद परिणामका आधारमा त्यस्ता प्रकारका वस्तुहरूको सेवनकर्ता ह्वात्तै बढेको अनुमान गर्न सकिने अधिकारीहरू बताउँछन्।
लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता बस्याल भन्छन्, नेपालमा गाँजा तथा ब्राउन सुगर अन्य लागु पदार्थ भन्दा सस्तो भएकाले त्यस्तो ‘ट्रेन्ड’ देखिएको हो। तर जति लागु पदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यस अनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको बस्यालले बताए।
उनले भने, हामीलाई सबभन्दा पहिला लागु पदार्थ पहिचान गर्ने ’किट’ चाहियो। त्यसपछि तालिमप्राप्त जनशक्ति चाहियो। २०६३/६४ को दरबन्दी भन्दा बढी जनशक्ति छैन। त्यतातिर ध्यान जानु पर्यो।
प्रमुख चार नाका
नेपाल प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने प्रमुख चारवटा नाका रहेका छन्। त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा रहेको प्रहरीका अधिकारीहरु बताउँछन्। विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
त्यस्का अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको ब्यूरोले जनाएको छ। बस्याल भन्छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज र भैरहवामा गरिएको कडाइका कारण लागु पदार्थ कारोबारी अहिले काँकरभिट्टा नाकामा सक्रिय भएको देखिन्छ।
दिनहुँ पक्राउ
खुला सीमाको फाइदा उठाउँदै काँकरभिट्टा नाकाबाट नेपाल भित्र्याइँदै गरेका लागु पदार्थसहित मान्छे पक्राउ पर्ने क्रम दिनहुँ जस्तो छ। जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको विवरणमा लागु पदार्थ कारोबारी तथा सेवनकर्ता प्रायः दिनहुँ पक्राउ पर्ने गरेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले मात्र विगत छ महिनामा करिब आधा केजी ब्राउन सुगरसहित ४० जनालाई पक्राउ गरेर मुद्दा चलाएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत छ महिनामा ९ सय ८६ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। गत वर्षको बरामदको परिणामलाई यो वर्षको छ महिनाले नै उछिनेको छ। गत वर्ष करिब ८ सय ब्राउन सुगर बरामद भएको थियो।
गत वर्ष झापामा २ सय १ जना लागु पदार्थ सेवनकर्ता तथा कारोबारी पक्राउ परेका थिए भने यो वर्षको छ महिनाको अवधिमा ९५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका छन्।
‘सरकारसँग नियन्त्रणको नीति नै छैन’
लागु पदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन्। बर्से्नि लागु पदार्थ दुर्व्यसनमा संलग्न हुने व्यक्तिहरुको सङ्ख्या बढ्दा पनि सरकारको आँखा विशेष रूपले त्यस क्षेत्रमा पर्न नसकेको लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्ने संस्था नार्कोनन् नेपालका प्रमुख वसन्तराज कुँवरले बताए।
उनले भने, “अहिलेसम्म ज–जस्ले खाएका छैनन् तिनीहरूलाई खान दिनु भएन। त्यसपछि खाने मान्छे चिनेर उनीहरूको उपचार र पुनस्स्थापना गर्नुपर्छ।’’ यी विषयमा सरकारले काम गर्नुपर्ने कुँवर बताउँछन्। उनले भने, प्रहरी कारबाही चाहिँ अन्तिम विकल्प मात्र हो। त्यसले मात्र लागु पदार्थ दुर्व्यसनको वर्तमान स्थितिमा सुधार हुँदैन। बीबीसी