सिन्धुली– अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासले घुस अभियोगमा एक इन्जीनियरलाई पक्राउ गरेको छ। शुक्रबार साँझ उपभोक्ता समितिसँग घुस लिएको अभियोमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाहलाई पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासका डिएसपी मधुकुमार थापाका अनुसार गाउँपालिकामा विद्युत विस्तारको काम गरेको एक उपभोक्ता समितिसँग घुस नदिएसम्म बिल फर्छ्योट गर्न नमानेपछि उनलाई अभियोग र नगदसहित पक्राउ गरिएको हो।
शाहलाई अख्तियार टोलीले कमलामाई नगरपालिका ६ को श्रेष्ठ होटलबाट उपभोक्ता समितिसँग चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो। ‘उनको साथबाट २ लाख २६ हजारको नगद र चेकसमेत नियन्त्रणमा लिइएको छ,’ डिएसपी थापाले भने । लामो समयसम्म इन्जीनियरका कारण उपभोक्ताहरुले पैसा पाउन नसकेपछि इन्जीनियर शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो। ‘सोही उजुरीका आधारमा उनलाई चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो। उनीसँग बयान निले कार्य भइरहेको छ,’ थापाले भने।
शाह गाउँपालिकाले करारमा राखेका इन्जीनियर हुन्। उनलाई दुई वर्षअघि गाउँपालिकामा नियुक्त गरिरएको थियो। उता गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले पटक–पटक सचेत गराउँदा समेत अटेर गरेपछि इन्जीनियर शाह पक्राउ परेको बताए। ‘तीन महिनाअघि नै विद्युतको निर्माण कार्य सम्पन्न गरी उपभोक्ता समितिले घरघरमा बत्ती बालिसके पनि इन्जीनियरले स्टमेट बनाउन नमान्दा बिल भुक्तानीमा ढिलाइ भएको थियो। मागेजति पैसा नदिएसम्म बिल भुक्तानीका लागि स्टमेट बनउन नमानेपछि इन्जीनियरसँग आजित उपभोक्ताले अख्तियारमा उजुरी गरेको हुन सक्छन्,’ उनले भने।