एजेन्सी— चीनमा कोरोना भाइरसबाट संक्रमित एक जना पहिलो पटक अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन्।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजटीएन) को अनुसार झेझियाङ प्रान्तको वेन्झौ सहरमा याङ थर गरेका ४६ वर्षीय बिरामी निको भएर शुक्रबार घर फर्किएका हुन्। हालसम्म उनको नाम भने खुलाइएको छैन।
लामो समयसम्म हुबेई प्रान्तको वुहान सहरमा बसेका ती व्यक्तिलाई जनवरी ३ मा टाउको दुखेको र ज्वरो आएको थियो। उपचारमा खटिएका चिकित्सकले याङमा सुरुवाती चरणको कोरोना भाइरसको संक्रमण रहेकाे बताएका छन्।
रहस्यमयी भनिएको कोरोना भाइरस वुहान सहरबाट चीनको अन्य प्रान्त र विश्वका विभिन्न देशमा समेत फैलिएको छ। महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस विश्वकाे लागि खतरा बन्ने अनुमान गरिएकाे छ।