पाल्पा– व्यावसायिक मौरीपालनबाट यहाँका किसानको जीवनशैलीमा सुधार आएकोे छ। कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा मौरीपालन व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पाल्पाका युवाहरु यसतर्फ आकर्षित भएका छन्। पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाका युवाहरु मौरीपालन व्यवसायबाट गतिलो आम्दानी गर्न सफल बनेका छन्।
यहाँका किसान मौरीपालन व्यवसायबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्न सफल भएका हुन्। २५–३० घरपरिवारले व्यावसायिक रुपमा मौरीपालन गरी उत्पादित मह बेचेर परिवारका लागि चाहिने खर्च जुटाउन सफल बनेको स्थानीयवासी डोलबहादुर विश्वकर्माले बताएका छन्। स्थानीयवासी दयाराम पाण्डेयले १८२० वटा मौरीका घारमा व्यावसायिक रुपमा नै मह उत्पादन गर्दै आएको छ।
उनको घरलाई मौरीका घारले घेरिएका छन्। एउटा घारबाट शुरु गरेको मौरीपालन व्यवसायबाट प्राप्त आम्दानीले अहिले उनलाई दुई–चार हजार रुपैयाँका लागि अरूको भर पर्नु पर्दैन। मौरीपालन व्यवसायबाट नै वार्षिक तीन लाखको हाराहारीमा मह बेचेर आम्दानी हुने गरेको उनले बताएका छन्। परिवारका लागि चाहिने खर्च महले जुटाउन थालेपछि पाण्डेय परिवार खुशी छन्। एकपटकमा ४० देखि ५० मानासम्म रस उत्पादन हुन्छ।
यस्तै स्थानीयवासी दामोदर अधिकारीको पनि छ घारमा रहेको मौरीबाट वार्षिक पचास हजारदेखि एक लाखसम्म आम्दानी हुने गर्छ। यही मौरीपालन व्यवसायबाट पनि उनी प्रशस्त आम्दानी गनर्छन। पशुपालन तथा खेतीपातीसँगै उनले मौरीपालन व्यवसायमा हात हाले। पूर्वखोला गाउँपालिका क्षेत्रभित्र व्यावसायिक रुपमा मौरीपालन व्यवसायप्रति किसान आकर्षित हुँदै आएको छ। गाउँपालिकाले गत वर्ष प्रत्येक वडाका किसानलाई मौरीसहितका घार र घारमात्र अनुदानमा वितरण गरिएको हो।
मौरीसहितको घारलाई सात हजारमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताएका छन्। गाउँपालिकाले मौरीपालन व्यवसायप्रति किसानलाई आकर्षित गर्नका लागि ४० गोला मौरीसहित घार र ६० थान खाली घार वितरण गरिएको कृषि शाखाप्रमुख सन्तोष कँडेलले बताएका छन्। गाउँपालिकाभित्रका परम्परागत मौरीपालन गर्ने किसानलाई अनुदानमार्फत आधुनिक रुपमा मौरीपालन व्यवसायप्रति आकर्षित गरी आत्मनिर्भर बनाउन थालिएको गाउँपालिका कृषि शाखा प्रमुख कँडेलको भनाइ छ।
चालु आवमा पूर्वखोला गाउँपालिकाले गोला मौरीसहित ८० थान आधुनिक घार वितरण गर्ने योजनामा छ। गाउँपालिका क्षेत्रभित्र हाल तीन सय किलो मह उत्पादन हुँदै आएको कृषि शाखाप्रमुख कँडेलले बताएका छन्। उनका अनुसार मह उत्पादन वृद्धिसँगै स्थानीयवासीको आम्दानीमा समेत वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले मौरी स्रोत केन्द्र प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रम रहेको बताएका छन्।
उनले मौरी स्रोत केन्द्रलाई व्यवस्थित गर्नका लागि आवश्यकता अनुसारका औजार तथा उपकरण सहयोग गर्ने कार्यक्रम रहेको बताएका छन्। आधुनिक मौरीका घारमा मौरीपालन गर्ने चलन बढ्दो छ। पाल्पाको तानसेन नगरपालिकाको मदनपोखरा, बगनासकाली गाउँपालिकाको चापपानी बराङदी, रिब्दीकोट गाउँपालिकाको ठिमुरे, माथागढी गाउँपालिका लगायतका स्थानीय तहमा ठूलो मात्रामा मह उत्पादन हुँदै आएको छ।
चैत, जेठ, असार, साउन, कात्तिक र मङ्सिर महिनामा मह बढी उत्पादन हुन्छ। असोजदेखि मङ्सिरको पहिलो हप्तामा मह निकाल्न सकिने व्यवसायीहरुको भनाइ छ। जङ्गलमा फूल फुलेपछि मौरीले रस ल्याउँछन्। तोरी, दालचिनी, चिउरी लगायतका फलफूल फुलेपछि मौरीले मह हाल्ने गर्दछन्। मौरीलाई रातिमा वन्यजन्तुबाट जोगाउनुपर्छ र दिनमा कीरा तथा अरिङ्गालबाट जोगाउन सकेको अवस्थामा राम्रो आम्दानी हुन्छ। (रासस)