जुम्ला– तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाईँले पैसा नभएपछि स्तन क्यान्सरको उपचार गराउन सकेको छैन।
उनी तीन वर्षदेखि क्यान्सरको पीडाले छटपटिइरहेको छ। ‘पहिले सानो घाउ थियो, त्यही बेला उपचार भएको भए पीडा खेप्नुपर्ने थिएन होला। घरमा कोही पनि पढेलेखेका नहुँदा आफ्नो समस्याप्रति वास्तै गरिएन। ‘उनले गहभरि आँशु पार्दै भने। भारतमा उपचार गर्न जाँदा क्यान्सर भएको र शल्यक्रिया गर्नुपर्छ भनेपछि पैसाको अभावले उनलाई फर्काइएको आफन्तले जनाएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः उपचारका लागि लैजाँदा जुम्लामा उपचार सम्भव जानकारी दिइएको थियो। उनकी जेठो नाति कैलाश दमाईले भने, ‘उपचार भारतको लखनऊमा हुन्छ भनेका छन्। त्यसका लागि करीब रु तीनचार लाख रकम लाग्छ। केही रकम आफूले छुट्याएपछि केही प्रतिष्ठानले सहयोग गर्ने भनेको छ। तर घरको सबै धन सम्पत्ति बेच्दा पनि रु तीनचार लाख रकम पुग्दैन।
कसरी हजुरआमाको उपचार गरौँ।’उनका श्रीमान् खड्के दमाईको २० वर्ष पहिला मृत्यु भएको थियोे। उनको पीडामा मल्हम लगाउन अघिपछि कोही पनि छैनन्। घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उनको उपचार सम्भव भएन। ‘घरमा छ महिना खाना पनि धौधौ छ, अब मर्नुको विकल्प छैन उनले भने, बाँच्ने रहर हुँदा पनि आर्थिक अभावले म गल्दै छु। सरकारले दिने गरेको सामाजिक सुरक्षाभत्ताले औषधि किन्नै ठिक्क छ। दुखाइले नछटपटिएको कुनै दिनरात छैन।’ (रासस)