एजेन्सी– जम्मू-कश्मीरमा एक हप्तामा लगातार तेस्रो मुठभेड भएको छ। दक्षिण कश्मीरको पुलवामा जिल्लाको अवन्तिपोरा इलाकामा शनिबार सुरक्षाबल र आतंकवादीबीच तेस्रो पटक मुठभेड भएको हो।
मुठभेडमा २ आतंकवादी पाकिस्तानी मारिएका छन्। मारिएका कारि यासिर जैश–ए–मोहम्मदको कश्मीर एरिया कमान्डर थिए। श्रीनगरमा ठूलो आईईडी विष्फोटको योजना बनाइरहेका बेलामा कारि मारिएको दाबी गरिएको छ। २६ जनवरीको दिन ठूलो विष्फोट गराउने योजना रहेको बताइएको छ।
शनिबार बिहान राष्ट्रिय राइफल्स आरआर, जम्मू कश्मीर पुलिसको स्पेशल अप्रेशन ग्रुप र केन्द्रीय औद्योगिक सुरक्षा बलको संयुक्त दलले थालेको अप्रेशन सफल भएको बताइएको छ।
यसअघि २१ जनवरीमा पुलवामाको अवन्पिरामा २ जनाको मृत्यु भएको थियो। उक्त समयमा सेनाका एक जवानको पनि मृत्यु भएको थियो। त्यसअघि २० जनवरीमा पनि हिजबुल मुजाहिदिनका तीन आतंकवादी मारिएका थिए।