तुलसीपुर – चालु आव २०७६७७ मा दाङमा १३ स्थानमा पार्क निर्माण हुन लागेका छन्। पर्यटन क्षेत्रको विकास गर्न पार्क निर्माण गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ। सहायक वन अधिकृत संयोग बस्नेतका अनुसार घोराही उपमहानगरपालिकामा छ, तुलसीपुर उपमहानगरपालिकामा चार, दङ्गीशरण, बङ्गलाचुली र बबईमा एकएक पार्क निर्माण गर्न थालिएको हो।
उनका अनुसार घोराहीमा मल्टिप्रपोच बोटानिकल गार्डेन, बाह्रकुने दहमा बहुउदेश्यीय पार्क निमार्ण, शहीद स्मारक पार्क, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, घोदौरामा सांस्कृतिक डबली र लखन थापा पार्क रहने छन्। त्यस्तै तुलसीपुरमा बोटानिकल गार्डेन, चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सोन्दर्यकरण पार्क, छिल्लीकोटमा पर्यटकीय क्षेत्र संरक्षण र नवदुर्गा सामुदायिक वनमा आधुनिक ग्रिन पार्क रहने छन्।
त्यस्तै बङ्गलाचुलीमा पार्क निर्माण, दङ्गीशरणमा कल्चरल पार्क तथा सालिक निर्माण, पुरन्धारा झरना गुरुयोजना निमार्ण तथा पानी मुहान संरक्षण रहने बस्नेतले बताएका छन्। तीमध्ये केही पार्क निर्माणको काम चलिरहेको र केही पार्क निर्माणका लागि सम्झौताको प्रक्रियामै रहेकाे उनको भनाइ छ।
जिल्लामा पार्क निर्माणका लागि रु ११ करोड बजेट छुट्याइएको छ। पार्क निर्माण भएपछि यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान हुने बस्नेतले बताएका छन्। सफा, सुन्दर तथा हरियाली ठाउँमा पार्क निर्माण भइरहेकाले दाङ आउने पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ। गत आव २०७५७६ मा जिल्लाका विभिन्न ठाउँको पहिचानको गरी २३ पार्क निर्माण गरिएका थिए।
यस्तै छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिर जानका लागि मन्दिर नजीक सिँढी निर्माण, बाह्रकुनेदहदेखि ज्यामिरेदहसम्म पुग्नका लागि सिँढीको स्तरोन्नति गरिएको थियो। धारापानीमा ताल निर्माण, २६ ठाउँमा थारूको भुर्यारथानमा स्तरोन्नति, थर्कोट डाँडामा बाटो निर्माण गरिएको कार्यालयले जनाएको छ। जिल्लाका धार्मिक वनअन्तर्गत सामुदायिक वनमा पर्यटन प्रवद्र्धनको काम पनि भएको छ। (रासस)