एजेन्सी – टर्कीमा शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १४ सय भन्दा बढी घाइते भएका छन्।
अधिकारीहरुका अनुसार ४३ जनाको उद्दार गरिएको छ। केही बेपत्ता भएकाहरूकाे खाेजी कार्य भइरहेकाे हुँदा मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। २० भन्दा बढी च्यापिएका थिए।
टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो। प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो। त्यो निकै शाक्तिशाली कम्पन भएको त्यहाँको मिडियाले जनाएको छ।
एक भूकम्प पिडितका अनुसार त्यतिबेला तापक्रम माईनस पाँच डिग्री सेल्सियस पुगेको थियो। भूकम्पपछि दर्जनौ पटक पराकम्प पनि आएको बताइएको छ। भूकम्पको प्रभाव चार ओटा प्रान्तमा परेको विवरणहरु आएको अधिकारीहरुले जनाएका छन्। सन् १९९९ मा आएको भूकम्पमा परी त्यहाँ १७ हजार मानिसको ज्यान गएको थियो।