काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आइतबार बिहान ८ बजेदेखि भएकोे छलफल सकिएको छ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धयबीच शान्तिप्रक्रियाको पूर्णता तथा द्वन्द्वकालीन मुद्दा, उपसभामुखको चुनाव, केन्द्रीय कमिटीको बैठक लगायत विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयले उनीहरुबीच माघ १५ गतेदेखि हुने गरी तय भएको केन्द्रीय कमिटी बैठकको विषयमा केन्द्रित रहेर छलफल भएको जनाएको छ। त्यस्तै उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दा तथा विभिन्न निकायमा पदाधिकारी नियुक्तिका विषयमा पनि अध्यक्षहरुबीच छलफल भएको जनाइएको छ। उपसभामुखमा कुन दललाई समर्थन गर्ने भन्ने विषयमापनि उनीहरुबीच छलफल भएको छ।
नेकपाले सभामुखको उम्मेदवारका रुपमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद तथा स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ। सभामुखमा एकल उम्मेदवारी परेका कारण सापकोटा आइतबारको प्रतिनिधि सभाको बैठकबाट निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा हुनेछ।
संवैधानिक व्यवस्थाअनुसार उपसभामुखमा नेकपाले उम्मेदवार उठाउन मिल्दैन। उपसभामुखका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले जोड गरिरहेका छन्।