काठमाडौं– मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन्। सातौँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी मानसिक स्वास्थ्यको विषयलाई बेवास्ता नगरी प्रभावकारीरूपमा लैजानुपर्नेमा जोड दिएका छन्।
मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ताले हरेक देशमा उपचारात्मक पद्दति अपनाउनु आग्रह समेत गरेका छन्। नेपाली प्रतिनिधिले प्रस्तुत गरेको कार्यपत्रले समेत समस्याको पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने विषयलाई जोड दिएको छ।
‘द स्कूल अफ साइकोलोजी’ नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले नेपालमा ‘दक्षिण एशियामा अपाङ्गता र सांस्कृतिक लचकताको अवस्था’को विषयमा कार्यपत्र प्रस्तुत गर्दै असल अभ्यास र चुनौतीका विषयमा जानकारी गराए। नेपालको सन्दर्भमा नगन्य अनुसन्धान भए पनि व्यवहारतः ती अनुसन्धानमा आमरूपमा शोधकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताको रुचि कम भएको बताए।
परीक्षाको चिन्ताले जिपिएमा नकारात्मक असर पर्ने देखिएको भन्दै यसतर्फ सतर्क हुने त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेमराज भट्टले औँल्याएको छ। ‘निजी विद्यालयका विद्यार्थीमा परीक्षासम्बन्धी चिन्ता र शैक्षिक उपलब्धि’,भक्तपुरमा सातदेखि १० कक्षाका विद्यार्थीसँग गरिएको अध्ययनमा पाइएको बताए। भक्तपुरको ४ सय ४५ विद्यार्थीमा उक्त अध्ययन गरिएको थियो।
प्राध्यापक डा. उषाकिरण सुब्बाले नेपालमा ज्येष्ठ नागरिकमा देखिएको उदासिनताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। अध्ययनका क्रममा एक्लोपनाको सोचाइ आउनु, परिवारको प्रिय व्यक्ति गुम्नु, मृत्युको भय हुनु जस्ताकारणहरुले ज्येष्ठ नागरिकमा उदासिन (डिप्रेसन) हुने गरेको पाइएको बताइन्।
विश्वभरिका अपाङ्ता व्यक्तिमो मानसिक स्वास्थ्य समस्याजस्तै दक्षिण एशियामा सामान्य मानिसभन्दा अपाङ्गता भएका व्यक्तिमा मानसिक समस्या बढी रहेको बताए। नेपालमा कूल जनसङ्ख्यामा १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्क छ। विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। मानसिकरूपमा विशेष क्षमता बालबालिकाको पहिचान गर्न सोही बमोजिम शिक्षक, अभिभावक र विद्यालयले आवश्यक आधारभूत तयारी गर्नुपर्ने आवश्यकता सैनिक आवासीय महाविद्यालय चितवनका शैक्षिक संयोजक गोपीलाल श्रेष्ठले बताए।
सम्मेलनमा नेपाललगायत मलेशिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका ५०० प्रतिनिधि सहभागी थिए। मानसिक स्वास्थ्यसँगै उनीहरुको गुणस्तरीय जीवन निर्माण गरी मानवअधिकार संरक्षणको विषयमा संस्थाको ध्यान रहेको सिभ्यूस इन्टरनेशनलका अन्तरराष्ट्रिय अध्यक्ष डा काट्सुहिरो यामासिताले बताए। शुक्रबार र शनिबार भएको सम्मेलनमा विभिन्न विज्ञ तथा प्राध्यापकले ६० कार्यपत्र प्रस्तुत थिए।