काठमाडाैं – ई–स्कुल सफ्टवेयर विश्वविख्यात सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टको एपसोर्सको पहिलो नेपाली सफ्टवेयर बनेको छ। ई–जोन इन्टरनेशन प्रालिले विकास गरेको उक्त सफ्टवेयर माइक्रोसफ्टको एपस्टोरमा अन्तर्राष्ट्रिय रुपमै उपलब्ध भएको छ।
विद्यालयहरुको व्यवस्थापनमा सघाउने उद्देश्यले विकास गरेको यो सफ्टवेयर ६ महिनाको प्रयास पछि ई–जोनले माइक्रोसफ्टको एपसोर्समा राख्न सफल भएको हो। नेपालबाट ई–स्कुलसँगै पाँच ओटा सफ्टवेयर एपसोर्सको प्रक्रियामा रहेका थिए।
यस अघि ई–जोनले प्रत्यक्ष रुपमा बजारमै गएर आफ्नो सफ्टवेयर बिक्री गर्दै आइरहेको थियो। तर अब भने विश्वभरबाट जो कसैले पनि माइक्रोसफ्टबाट ई–स्कुल सफ्टवेयर खरीद गर्न सक्नेछन्। ई–जोनका अनुसार यो सफ्टवेयर माइक्रोसफ्टको एपसोर्ससमा गएर ई–सेवा लगायतका अनलाइन भुक्तानीको माध्यमबाट खरीद गर्न सकिन्छ।
निःशूल्क रुपमा परीक्षणको रुपमा प्रयोग गर्न सकिने सुविधा समेत रहेको यो सफ्टवेयर हाल नेपालभरका पाँच सय भन्दा बढी विद्यालयहरुले प्रयोगमा ल्याइसकेका छन्। यो सफ्टवेयरमा स्टुडेन्ड इन्फरमेशन सिस्टम, इक्जामिनेशन म्यानेजमेन्ट सिस्टम, अनलाइनबाटै विद्यालयको बिल तिर्न सकिने मोबाइल एप, हाजिरी (बायोमेट्रिक सहित), अनलाइनबाटै विदाको निवेदन दिन सकिने विशेषताहरु छन्।
यसका साथै अनलाइन भर्ना, बसको जीपीएस ट्र्या्किङ, एसएमएस, लर्निङ म्यानेजमेन्ट सिस्टम, फाइनाइन्सियल अकाउण्टिङ, बैंक म्यानेजमेन्ट सिस्टम, लाइब्रेरी म्यानेजमेन्ट, महिनाभरको विद्यार्थीको रिपोर्ट अभिभावकले हेर्न सक्ने, लगायतका फिचरहरु पनि ई–स्कुलमा रहेका छन्।
ई–जोनका अनुसार एपसोर्समा स्थान पाएसँगै ई–स्कुलको सबै डाटा माइक्रोसफ्टकै क्लाउडमा रहनेछ। जसबाट सुरक्षित एवंम् विश्वसनीय रुपमा सफ्टवेयरको प्रयोग गर्न सकिने छ।