एजेन्सी – स्मार्टफोन निर्माता कम्पनी सामसङले स्मार्टफोनमार्फत छिटो फाइल सेयरिङको लागि छुट्टै फिचर तयार पार्ने भएको छ। यसको अधिकांश फिचर एप्पलको एयरड्रप जस्तो हुने जानकारी लिक भएको छ।
प्रयोगकर्ताले फाइल सेयरिङको लागि एयरड्रप आइफोन र म्याक प्रयोग गर्दै आएका छन्। तर एयरड्रप एन्ड्रोइड डिभाइसमा भने चल्दैन। अब भने एन्ड्रोइड डिभाइसमा पनि फाइल सेयरिङको प्रविधि चल्ने गरि सामसङले सो योजना अघि बढाएको हो। जुन एन्ड्रोइड प्रयोगकर्ताको लागि उपयोगी हुने अनुमान छ।
सामसङले आफ्नो आगामी फ्ल्यागसिप फोन ग्यालेक्सी एस ट्वान्टीमा यो प्रविधिलाई समावेश गर्ने तयारी गरेको छ। यसले सामसङको फोनमा मात्रै नभई अन्य एन्ड्रोइड डिभाइसलाई समेत समावेश गर्ने अपेक्षा गरेकाे छ।
यसअघि गुगलले आफ्नो अपरेटिङ सिस्टममा फाइल सेयरिङको लागि एन्ड्रोइड बिम नामक यस्तै सुविधा दिने फिचर राखेको थियो। जुन केही वर्ष अघि नै यो सेवा बन्द भइसकेको छ। त्यस पश्चात यसको विकल्पको रुपमा गुगलले फाइल सेयरिङको लागि फाइल नामक एप सार्वजनिक गरेको थियो। तर यसलाई प्रयोगकर्ताले त्यति रुचाएका भने छैनन्।