काठमाडौं– एक अध्ययनमा लागेका वैज्ञानिकहरूको टिमले मानिसको मृत्युपछि पनि शुक्रकीटले काम गर्ने निष्कर्ष निकालेको छ। मानिसको मृत्यु भएको ४८ घण्टासम्म निकालिएको शुक्रकीट (स्पर्म) बाट स्वस्थ शिशु जन्मिन सक्ने वैज्ञानिकहरूले दाबी गरेका छन्।
जर्नल अफ मेडिकल एथिक्समा प्रकाशित सो प्रतिवेदनअनुसार मानिसको जीवन समाप्त भइसकेपछि ती व्यक्तिबाट शुक्रकीट निकालेर ‘स्पर्म बैंक’ मा जम्मा गर्न सकिनेछ। पुरुषलाई निधनपछि शुक्राणु दान गर्न अनुमति दिनुपर्ने वैज्ञानिकहरूल बताएका छन्।
‘स्पर्म डोनेसन’ सम्बन्धमा कडा कानुन भएका कारण विभिन्न देशका स्पर्म बैंकमा शुक्रकीटको मात्रा घटिरहेको छ। त्यसकारण मृत्यसपछि स्पर्म डाेनेट गर्ने अवधारणा सहयोगी बन्ने उनीहरूकाे निष्कर्ष छ।
मृत्यु भएको ४८ घण्टाभित्र दुई तरिकाले शुक्राणु निकाल्न सकिने बिबिसीका वैज्ञानिकहरूले ठहर्याएका छन्। यो अध्ययनमा सर्जरीमार्फत शुक्राणु निकाल्न र सुरक्षित रूपमा प्रयोग गर्न सकिने बताइएको छ।