सिरहा – सिरहामा एक युवकले खाना पकाउँदै गरेकी श्रीमतीको जिउँदै जलाएर हत्या गरेका छन्। सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ का विनोद यादवले आफ्नै २५ वर्षीया श्रीमती अनितादेवी यादवलाई जलाएर मारेका हुन्।
अनितालाई उपचारको लागि विराटनगरको एक अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएको भन्दै काठमाडौं रिफर गरिएको थियो। उनलाई कीर्तिपुर अस्पतालले मृत घोषणा गरेको हो।
हत्या गरेको आरोपमा उनका श्रीमान विनोदलाई प्रहरीले पक्राउ गरेको छ। अनितालाई जलाएर मारिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको मौखिक उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले बताए। उजुरीपछि मोरङ प्रहरीको सहयोगमा विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिएर शनिबार साँझ सिरहा ल्याइएको छ।
पछिल्लो हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजु चौरासीवतीले अनिताको चरित्रको विषयमा कुरा लगाएको प्रारम्भिक अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ।