काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ओलीले निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बोलाएर नेपालमा देखिएको कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सम्पूर्ण तयारी गर्न भनेका हुन्। गत डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट चीनमा मात्रै अहिलेसम्म ५७ जनाको मृत्यु भइसकेको छ।
चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। नेपाल फर्किएकी एक महिला र एक पुरुषमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनीहरुको उपचार थालिएको छ।
कोरोना भाइरस हो वा होइन पत्ता लगाउन दुवै जनाको नमूना (स्याम्पल) लिएर परीक्षणका लागि हङकङ पठाइएको छ। नेपालमा यस भाइरसको संक्रमण देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभावित देशबाट आउने विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवास्था गरेको छ।
नेपालमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनसँगका सबै सीमानाकामा समेत स्वास्थ्य सुरक्षा व्यवस्थामा कडाइ गरेको स्वास्थ्य मन्त्रालयलका प्रवक्ता श्रेष्ठको भनाइ छ। काठमाडौंका सरकारी तथा निजी अस्पतालहरुलाई पनि बिरामी देखिएमा उपचारका लागि तयारीमा रहन निर्देशन दिइसकेको छ।