इलाम – इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गरे। विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना गरेको उद्योगमा हाल रु एक करोड ३० लाख लगानी भइसकेको छ।
स्थापनाका समयमा करिब १ सय लिटरसम्म दूध प्रशोधन गर्न थालेका खत्रीले हाल दैनिक एक हजार ६ सय लिटर दूध सङ्कलन र प्रशोधन गरिरहेका छन्। “दूध थपिएसँगै लगानीसमेत बढेको छ”, उनले भने। खत्री हाल जिल्लामा नै क्रियाशिल युवा व्यापारीमा गनिन थालेका छन्। युवा अवस्थामा नै उनले राम्रो मेहनतसँगै प्रतिफलसमेत हात पारिरहेका छन्।
मासिक दुई हजार किलो माथि छुर्पी र एक हजार ८ सय किलो घ्यू उत्पादन हुनेगरेको उनले बताए। त्यस्तै बम्मैसन, ललिपपलगायतका परिकारसमेत उत्पादन हुने उनले बताए। व्यवसायी खत्रीले अन्य साना ३० भन्दा बढी डेरी उद्योगबाट उत्पादित घ्यू र छुर्पी खरिद गर्ने गरेका छन्। खत्रीले आफ्नो उद्योगमा प्रत्यक्षरुपमा २१ जनालाई रोगजारीसमेत दिलाएका छन्। भने अप्रतक्षरुपमा १ सय ४० जनाले रोजगारी पाएका छन्।
इलाम दुुध उत्पादनमा अग्रणी जिल्लाका रुपमा परिचित छ। यहाँ धेरै डेरी उद्योगसमेत सञ्चालनमा छन्। उमेरले कलिलै भए पनि यहाँ प्रायजसो युवाको आकर्षण बढ्दै गएको छ। सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी उद्योगमा वर्षेनी युवाको लगानी थपिँदै गएको हो। देउमाई नगरपालिका–४ का अशेष बुढाथोकीले विदेशबाट फर्किएर डेरी उद्योग स्थापना गरेकाछन्। तल्लो बुधवारेमा उाले गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गरेका छन्।
वि सं २०७४ मा स्थापना गरिएको डेरीमा शुरुमा रु ३० लाख लगानी भएको उनले बताए। बुढाथोकीको उद्योगमा हाल रु ६० लाख माथि लगानी भइसकेको छ। उनले करिव २ सय ५० किसानले उत्पादन गरेको दूध सङ्कलन गरेका छन्। दैनिक करिव ७ सय लिटर बढी दूध सङ्कलन भइरहेको उनले बताए। ‘कहिले धेरै कहिले थोरै यस्तै हो दूध सङ्कलन ।’ उनले भने, “किसानका गाईभैँसी लैनो हुँदा धेरै र बमेर्नो भएपनि कम दूध सङ्कलन हुने उनले बताए।” त्यसबाट मासिक एक हजार ५ सय किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुने गरेको उनले बताए।
सो उद्योगमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घ्यू नेपाली बजारमा नै बिक्री हुँदै आएको छ। उनकाे डेरी उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। हाल इलाममा ५ सय ५० डेरी उद्योग सञ्चालनमा रहेका घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ। बिशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका युवाले व्यवसाय गर्न थालेकाले इलाममा डेरी उद्योगमा लगानी बढेको बताइएको छ । समग्र जिल्लामा दर्ता भएका डेरी उद्योग युवाकै नाममा दर्ता भएका पाइएका छन्।
आर्थिक वर्ष २०७५/७६ मा ९१ डेरी उद्योग दर्ता भएका थिए। ती उद्योगमा रु ११ करोड २७ लाख १६ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी युवराज घोर्साइँले बताए। एउटा डेरी उद्योगमा रु एक लाख ५० हजारदेखि रु एक करोड ५० लाखसम्म लगानी हुने गरेको छ। सबैभन्दा बढी देउमाई नगरपालिकामा १ सय ४ डेरी उद्योग सञ्चालनमा छन्। रासस