काठमाडौं– नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ। निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ।
सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण जिल्लामा कृष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। तराईका झापा, मोरङ, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र अछाम कुष्ठरोगको प्रकोप दर एकभन्दा बढी भएका जिल्ला हुन्।
विगत नौ वर्षको तथ्याङ्क हेर्दा वार्षिक तीन हजारको हाराहारीमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले ६७औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको जानकारी दिए।
उक्त तथ्याङ्कअनुसार प्रदेश नं २ मा सबैभन्दा बढी एक हजार ४८४, त्यसपछि प्रदेश ५ मा ७१९, प्रदेश १ मा ४७१, सुदूरपश्चिम प्रदेशमा २६६, वाग्मती प्रदेशमा १६५, कर्णाली प्रदेशमा ८९ र गण्डकी प्रदेशमा ८८ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका हुन्।
यसबाहेक गत आवको अन्त्यमा उपचारमा रहेका बिरामी सङ्ख्या दुई हजार ९२१ रहेको महाशाखाअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यस्थापन शाखाका निमित्त प्रमुख डा उत्तम घिमिरेले जानकारी दिएका छन्। कुष्ठरोगको कारणबाट हालसम्म करीब ३१ हजारभन्दा बढी अपाङ्गता भएको अनुमान छ भने बहुऔषधिबाट उपचार पूरा गर्नेको सङ्ख्या एक लाख ९२ हजारभन्दा बढी रहेको शाखाले जनाएको छ ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइको ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। ९५ प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्न सक्ने क्षमता हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ। उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ। शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने निमित्त प्रमुख डा घिमिरेले बताएका छन्।
यो रोग बहुऔषधिको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ र अपाङ्गता हुँदैन । कुष्ठरोग निवारणका लागि हाल मुलुकभर जनचेतनामूलक कार्यक्रम, सङ्क्रमण नियन्त्रण, अपाङ्गता बचावट, पुनस्र्थापना, सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि, साझेदारसँगको समन्वय तथा सहकार्य, बहुऔषधिको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन भइरहेको महाशाखाले जनाएको छ। रासस