चितवन - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन्। बालकुमारी माध्यामिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव एवं ५४ औँ वार्षिकोत्सवमा आज उनले अहिलेको शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै गरेको बताए।
उनले भने, “शिक्षा लिएको हातमा प्रमाणपत्र छ तर कतै काम पाइँदैन।” यसले समाजमा नकारात्मक प्रभाव परेको भन्दै उहाँले अबको शिक्षा हरेक स्थानमा मानिसको शैक्षिक योग्यताको कदर हुने खालको हुन आवश्यक रहेको बताए । “शिक्षा पढाइ मात्रै नभएर यसलाई व्यावहारिक जीवनमा समेत उतार्न सक्नुपर्छ”, उनले भने।
शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थी जिम्मेवार हुन आवश्यक रहेको उनले बताए । सो अवसरमा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो। विद्यालय २०२२ साल माघ १२ गते स्थापना भई सञ्चालनमा आएको हो। रासस