कञ्चनपुर– आगामी फागुन पहिलो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भीमदत्त नगरपालिकाको संयुक्त सहकार्य फागुन ७ देखि १७ गतेसम्म पर्यटन महोत्सव हुन लागेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिए। सङ्घका अध्यक्ष मल्लको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
लगानी अवसरको सिर्जना गर्ने, सहकारी, वित्तीय क्षेत्र तथा बैंकिङ क्षेत्रका सेवा र सुविधाको प्रदर्शनी, कृषि पेशालाई व्यावसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको सङ्घले जनाएको छ । महोत्सवमा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, गार्मेन्ट उत्पादन, कृषि प्रदर्शनी वैकल्पिक ऊर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरीय दैनिक उपभोग्य वस्तु तथा सांस्कृतिक कार्यक्रम आकर्षणका रुपमा रहने छन्।
सङ्घले महोत्सवका लागि स्वागत तथा सत्कार, सुरक्षा व्यवस्थापन, प्रदर्शनीकक्ष छनौट र प्रायोजक समिति, सचिवालय एवं प्रचारप्रसार, सांस्कृतिक तथा बाल उद्यान समिति आर्थिक तथा महिला उद्यम समिति गठन गरेको छ। रासस