एजेन्सी– ब्राजिलियन स्टार फरवार्ड नेयमारको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लिललााई पराजित गरेको छ। पीएसजीले लिललाई २–० ले पराजित गरेको हो।
जितसँगै पीएसजी लिग वानको उपाधितर्फ अग्रसर भएको छ। पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १० अंकले पछि पारेको छ। पीएसजीको २१ खेलबाट ५२ अंक छ। समान खेलबाटै मार्सेलीको ४२ अंक छ। पराजित लिल ३१ अंक जोडेर सातौ स्थानमा छ।
लिलको मैदानमा पीएसजीको जितमा नेयमारले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरे। खेलको शुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको पीएजीले २८औं मिनेटमा गोलको खाता खोलेको थियो। थोमस म्युनियरको पासलाई नियन्त्रणमा लिँदै मार्काे भेराटीसँगको वान टु वान पासमा नेयमारले गोल गर्न सफल भएका थिए।
त्यसअघि खेलो नवौं मिनेटमा घरेलु टोलीले अग्रता लिने अवसर खेर फालेको थियो । एराउजोको प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले पञ्च गर्दै बचाएका थिए। ३७औं मिनेटमा लिलका रेइनिल्डोले मौका पाएपनि सदुपयोग गर्न सकेनन्।
४८औं मिनेटमा केलियन एमबाप्पे चुक्दा पीएसजी अग्रता दोब्बर बनाउनबाट चुक्यो। लगत्तै प्राप्त पेनाल्टीमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे।एमबाप्पेको प्रहारलाई लिलका गोलरक्षक मिके मेइगनाले बचाउनुअघि ग्याब्रिएलले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेका थिए। त्यसमै नेयमारले गोल गर्न सफल भए।
उनले आफ्नो दोस्रो गोल बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टमा समपर्ण गरे। ४१ वर्षीय कोबी ब्रायन्टको आइतबार क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। हेलिकप्टरमा कोबीसहित उनको १३ वर्षीय छोरी जियाना र हेलिकप्टरमा रहेका ९ जना यात्री नै जीवित नरहेको स्थानीय पुलिसले जानकारी दिएको छ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा घरेलु टोलीका लोइक रेमीले गोल गरेपनि अफसाइड भए। त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–० ले विजयी हुन सफल भयो।