एजेन्सी– इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टस पराजित भएको छ। सुपरस्टार फरवार्ड रोनाल्डोले गोल गरेपनि युभेन्टस घरेलु टोली नेपोलीसँग २–१ ले पराजित भएको हो।
हारपछि पनि युभेन्ट्सले शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको छ। दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक छ। युभेन्टसलाई पराजित गरेको नेपोलीको २७ अंक जोडेर १०औं स्थानमा छ। नेपोलीको मैदानमा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो। प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।
पिओटर जिलिन्स्कीले ६३औं मिनेटमा गोल गर्दै घरेलु टोली नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेल सकिन चार मिनेट बाँकी छँदा लोरेन्जो इनसिग्नीले जोसे मारिया कालीजोनको पासमा भली गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे। ९०औं मिनेटमा रोनाल्डोले गोल गरेपनि युभेन्टसले हार टार्न सकेनन्। रोनाल्डो लगातार ८ लिग खेलमा गोल गर्दै युभेन्ट्सका पहिलो खेलाडी बने। त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस नेपोलीसँग २–१ ले पराजित हुन पुग्यो।
अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा काग्लिएरीसँग १–१ गोलको बराबरीमा रोकिएको छ। इन्टरले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो। इन्टरका लोउटारो मार्टिनेजले २९औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। ७८औं मिनेटमा राड्जा नेइनगोलानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
इन्ज्युरी समयमा मार्टिनेज दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इन्टर १० खेलाडीमा समेटियो। बराबरीपछि मिलान २१ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थनमा यथावत छ। काग्लिएरी ३१ अंक जोडेर छैटौं स्थानमा छ।