नवलपरासी– नवलपरासी गैँडाकोट–८ निवासी १ सय ७ वर्षीय भूमिश्वर सापकोटा सम्मानित भएका छन्। श्रीवैष्णव परिषद् नेपाल, नवलपुर शाखाले सम्प्रदायकै ज्येष्ठ नागरिकका रुपमा शनिबार उनलाई सम्मान अर्पण गरेको हो।
बागलुङ दमेकम विसं १९७१ मा जन्मिएका सापकोटा शतवार्षिक अभिनन्दनबाट सम्मानित भइसकेका छन्। उनले विसं २०२८ बाट गैँडाकोटलाई कर्मक्षेत्र बनाएका थिए।
भागवत चिन्तनमा आस्था राख्ने उनी विसं २०३९ मा चितवन लङ्कु निवासी रामानुज सम्प्रदायका विशिष्ट आचार्य विद्वान् श्री १००८ स्वामी श्रीधराचार्यजी महाराजबाट वैदिक विधिअनुसार श्रीवैष्ण सम्प्रदायमा प्रवेश गरेका थिए। सम्प्रदायकै ज्येष्ठ नागरिक भएकाले उनलाई सम्मान गरिएको जिल्ला शाखा नवलपुरका निवर्तमान अध्यक्ष टीकाराम कँडेल माधवले बताएका छन्।
उनको छोरा तिलक सापकोटाले नैतिकता र आचारण सिकाउँदै समाजलाई सत्मार्गमा डोहोर्याउन आवश्यक रहेको बताएका छन्। श्रीवैष्णव परिषद् नेपाल, जिल्ला शाखा नवलपुरको अध्यक्षमा स्वामी लक्ष्मणाचार्य चयन भएका छन्। रासस