काठमाडौं– प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका अग्नि सापकोटाले पदभार ग्रहण गरेका छन्। सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख सापकोटाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणसँगै सभामुख सापकोटाले प्राथमिकताका आधारमा काम अघि बढाउने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी आइतबार निर्विरोध निर्वाचित भएका थिए।
झन्डै चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाएको हो। तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा जेल गएपछि सभामुख पद रिक्त थियो। सभामुख नपाउँदा प्रतिनिधिसभाको बैक पटक–पटक स्थगित हुँदै आएको थियो।
पदभार ग्रहण गर्दै सापकोटाले आफूविरूद्ध व्यक्ति हत्याबारे सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन्। पत्रकारसँगकाे कुराकानीमा उनले मुद्दा सर्वोच्चमा भएकाेले अहिले केही नबाेल्ने जनाएका छन्।